Khi

कारोबार बढ्ने समयमा अदुवाको भाउ ह्वात्तै घट्यो जाडोमा अत्याधिक माग र खपत हुने अदुवाको भाउ यसपालि ह्वात्तै घटेको छ । पोहोरको तुलनामा यसपालि अदुवाको भाउ झण्डै आधाले घटेको छ । उत्पादन धेरै र भारतमा माग कम भई निकासी नहुँदा अदुवा सस्तिएको हो । यो वर्ष अदुवाको थोक मूल्य किलोको ४५ देखि ५० रुपैयाँ छ । पोहोर किलोको ९० देखि १ सय रुपैयाँ थियो । पोहोर भारतबाट पनि माग धेरै आएकाले कारोबार धेरै भएको थियो । त्यहि मागलाई ध्यानमा राख्दै यसपाली किसानले अदुवा खेती बढाएका थिए । जसले गर्दा उत्पादन धेरै भयो र भाउ सस्तियो । भाउ घटेपनि किसानलाई घाटा छैन कृषि प्राविधिक श्यामचन्द्र आचार्यका अनुसार यसवर्ष अदुवामा रोग किरा नलागेकाले पनि उत्पादन धेरै भयो । अदुवा खेतीमा जैविक विषादी प्रयोग गरेकाले कुहिने समस्या यसपाली हटेको उहाँले बताउनुभयो । यस्तै किसानले बीउ पनि सस्तो पाएकाले बाली लगाउने क्षेत्रफल बढेको हो । कृषि प्राविधिक आचार्यका अनुसार पोहोरको तुलनामा भाउ सस्तो भएपनि किसानलाई घाटा भने छैन । अरु तरकारी जस्तो तत्काल बिक्री नगरे कुहिने समस्या नहुने भएकाले किसानले भाउ अनुसार अदुवा बिक्री गर्न सक्छन् । अदुवाको माग नभएको अवस्थामा पनि यसलाई बीउको रुपमा बेच्न सकिने भएकाले किसानलाई नोक्सानी हुँदैन । अदुवाका खादाका फाइदा * अदुवाको रस चियामा हालेर खाए वान्ता हुने समस्या हट्ने * अदुवाले पाचन प्रणालीमा सुधार ल्याउँछ * श्वासप्रश्वासमासहज हुने * अदुवा लगाए जलन र दुखेको भागमा राहत मिल्छ * रक्त सञ्चारमा सुधार आउने * अदुवा हालेको चिया पिउनाले तनाव कम हुने ।। जाडो महिनामा तरकारी बाहेक अरु प्रयोजनमा पनि अदुवाको प्रयोग गरिने भएकाले माग धेरै हुन्छ । मकवानपुर धादिङ, पाल्पा र नुवाकोटमा अदुवाको व्यवसायी खेती गरिन्छ ।