'थ्री इडियट्स' हेरेर बाग्लुङका १३ वर्षे बालकले बनाए ‘क्वाडकप्टर’...

बाग्लुङ : आमिर खान अभिनित चर्चित हिन्दी फिल्म ‘थ्री इडियट्स’मा इन्जिनियरिङ पढ्दै गरेका विद्यार्थीले क्वाडकोप्टर बनाएका थिए। तर सोही चलचित्र हेरेर ८ कक्षामा अध्ययनरत एक छात्रले क्वाडकोप्टर बनाएका छन्। बागलुङ नगरपालिका–२ का रिवाज श्रेष्ठलाई थ्री इडियस हेरेपछि ‘क्वाडकप्टर’ बनाउने प्रेरणा जाग्यो। फिल्ममा उनले क्वाडकोप्टर उडाएको देखेका थिए। १३ वर्षका श्रेष्ठले हेलिकोप्टरजस्तोप्रविधिमा आधारित ‘क्वाडकप्टर’ बनाएनन् मात्र उडाउनसमेत सफल भएका छन्। श्रेष्ठले क्वाडकप्टरलाई नमुना हेलिकोप्टर भनेका छन्। स्थानीय सिद्धार्थ शिक्षा सदन कक्षा ८ मा अध्ययनरत श्रेष्ठको अहिले बाग्लुङमा चर्चा चुलिएको छ। विद्यालयमा पहिलोपटक श्रेष्ठले ‘क्वाडकप्टर’ उडाउँदा विद्यार्थी, शिक्षक र अभिभावक आश्चर्यमा परे। श्रेष्ठले विभिन्न प्रविधि अपनाएर ‘क्वाडकप्टर’ बनाएका हुन्। ‘क्वाडकप्टर’मा रहेको चारवटै पङ्खामा एक हजार एक सय केभीको मोटर जडान भएको उनले बताए। यसले एक मिनेटमा एक हजार एक सयपटक पङ्खा घुमाउने गरेको छ। त्यस्तै क्वाडकप्टरमा २.६ र २.२ एम्पिएरका दुईवटा ब्याट्री जडान गरिएको छ। चार महिना समय खर्चिएर बनाएको ‘क्वाडकप्टर’ ३० मिटर उचाइ र त्यत्तिकै टाढासम्म उड्ने उनले दाबी गरे। नमुनास्वरुप सानो आकारमा बनाइएको ‘क्वाडकप्टर’को आकार र क्षमता पनि बढाउन सकिने उनी बताउँछन्। 'त्यसका लागि उपकरणको समेत क्षमता बढाउनुपर्छ, अहिले सानो ब्याट्री, मोटर भएकाले धेरै माथि र परसम्म उड्न सक्दैन,' श्रेष्ठले भने। ‘क्वाडकप्टर’मा प्लास्टिकका सामग्री, ब्याट्री, इएससी, फ्लाइट कन्ट्रोलर, रिसिभर, पावर कन्ट्रोलरलगायत सामग्री तथा उपकरण प्रयोग गरिएको छ। ती सामग्री काठमाडौँबाट झिकाएको थियो। ‘क्वाडकप्टर’मा टेलिभिजन ‘लाइभ टेलिकास्ट’ गर्न मिल्ने एफइबी क्यामेरासमेत जडान गरिएको छ। कन्ट्रोलरबाट ‘क्वाडकप्टर’लाईउडाउन र अवतरण गर्न मिल्ने बनाइएको उनले जानकारी दिए। 'सफल रुपमा क्वाडकप्टर उडेपछि म एकदमै खुसी छु,' श्रेष्ठले भने, 'ज्ञान र प्रविधिको सहयोगमा आफ्नो मिहेनत र परिश्रमले आज यो सफल भयो।' त्यसो त उनले क्वाडकप्टरमात्रै होइन लाइट डिटेक्टिभ, टान्जिस्टर, लिड बल्भ, ब्याट्रीलगायत सामग्री प्रयोग गरी अँध्यारोमा आफै बल्ने ‘डार्क सेन्सर’समेत बनाएका छन्। 'यो अँध्यारोमा आफैँ बल्ने र उज्यालोमा निभ्ने बत्ती हो' उनले भने। श्रेष्ठले वोम रोबर्ट, मिनी हाइड्रो पावर परियोजना, क्याटा पोल्ट, इलेक्ट्रिक कार, इलेक्ट्रिक ब्रस र ह्याट फ्यानसमेत बनाएको उनले बताए। यी सामग्री विद्यालयले समेत आफ्नो कक्षमा प्रदर्शनमा राखेको छ। श्रेष्ठ सानैदेखि जिज्ञासु स्वभावका थिए। भविष्यमा इन्जिनियर बन्ने उनको सपना छ। 'नयाँ अनुसन्धान गर्न र बनाउन मलाई एकदमै मन पर्छ,' उनले भने, 'आफ्नो पढाइसँगै यो क्षेत्रमा पनि काम गरिरहनेछु।' विद्यालय प्रशासनले पनि श्रेष्ठको सीप र प्रतिभालाई कदर गर्ने जनाएको छ। श्रेष्ठलाई विद्यालयले यो वर्षको ‘इनोभेटिभ अवार्ड’ समेत प्रदान गरेको छ। रासस