एमाओवादीका कारण संविधान बनेन : देउवा

नेपालगन्ज, फागुन १७ – नेपाली कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले एकीकृत नेकपा माओवादी नेतृत्वको विपक्षी मोर्चाकै कारण संविधान निर्माण हुन नसकेको आरोप लगाउनुभएको छ । नेपाल वित्तिय संस्था कर्मचारी संघ कृषि विकास बैंक लिमिटेडको ८ औं केन्द्रीय महाधिवेशनको आइतबार नेपालगन्जमा उद्घाटन गर्दै नेता देउवाले बहुमतका आधारमा संविधान बन्न नदिने र सहमतीमा पनि नआउने एमाओवादीकै कारण संविधान बन्न नसकेको बताउनुभयो । एमाओवादी नेतृत्वको मोर्चाले संविधान निर्माण गर्न नचाहेको उसको कार्यशैलीबाट स्पष्ट भएको नेता देउवाको भनाई छ । एमाओवादीका कारण संविधान बन्छ कि बन्दैन भन्ने अन्यौलता भएपनि आफूहरु चाँडो भन्दा चाँडो संविधान जारी गर्ने पक्षमा रहेको नेता देउवाले बताउनुभयो । सत्तापक्षले एमाओवादी नेतृत्वको विपक्षी मोर्चालाई सहमतीका लागि बोलाउँदा पनि मोर्चाका नेता वार्ता र सहमतीबाट भागेको उहाँले दाबी गर्नुभयो ।