काठमाडौं, फागुन १७ – संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले दलहरु तत्काल वार्तामा नबसे संविधानसभाको बैठक बोलाउने संकेत गर्नुभएको छ ।
सभाध्यक्ष नेम्वाङले आइतबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा सञ्चारकर्मीसँग कुरा गर्दै संविधानसभाको बैठक अनिश्चितकालसम्मका लागि स्थगित हुन नसक्ने बताउनुभयो ।
उहाँले दलहरु तत्काल वार्तामा नबसे संविधानसभाको बैठक बोलाउने जनाउ दिँदै बैठक बोलाउनु पहिले परिणाममुखी वार्ता गर्न दलहरुलाई आग्रह गर्नुभयो । सभाध्यक्ष नेम्वाङले घुमाउरो पारामा एकीकृत नेकपा माओवादीले कुनै सर्त नराखि सत्तारुढ दलसँग वार्ता गर्नुपर्ने पनि बताउनुभयो ।
उहाँले एमाओवादीले माग गरे अनुसार नै संविधानसभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको भन्दै वार्ताका लागि एमाओवादी अघि सर्नुपर्ने अन्यथा संविधानसभा बहुमतीय प्रक्रिया अगाडि बढाउन बाध्य हुने बताउनुभयो ।
एमाओवादी लगायतका विपक्षी दलहरुले दुई तिहाइ बहुमतको प्रक्रिया खारेज गरिनुपर्ने माग राखेर आन्दोलन गरेपछि सभाध्यक्ष नेम्वाङले वार्ता गरेर सहमतिमा पुग्नका लागि भन्दै गएको माघ २९ गते संविधानसभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्नुभएको थियो ।