काठमाडौं उपत्यका भित्र झण्डै २ हजार अग्ला घर भत्काउनुपर्ने अवस्थाका छन् । यस्ता अग्ला घर भत्काउन विदेशी प्राविधिककै सहायता चाहिने कुरा भैरहँदा काठमाडौं महानगरपालिकाले विदेशबाट उपकरण खरिद गरेर ल्याउने प्रक्रिया अगाडि बढिसकेको जनाउ दिएको छ ।
‘अग्ला घर भत्काउन चाहिने केही उपकरणहरु खरिदका केन्द्रीय दैवी प्रकोप उद्धार समितिलाई माग गरिसकेका छौं, उपकरण प्राप्त भएपछि यसलाई क्रमिक रुपमा भत्काउँदै लैजानेछौं’ काठमाडौं महानगरपालिका, भौतिक विकास तथा निर्माण विभागका प्रमुख डा. उत्तर रेग्मीले भन्नुभयो ।
यो कस्तो उपकरण हो त ? प्रमुख रेग्मी भन्नुहुन्छ ‘यो कङक्रिट कटर हो, यसको ओजन साढे पाँच टन मात्र हुन्छ र यो रिमोटबाट कन्ट्रोल हुन्छ । त्यो उपकरणलाई कुनै अर्को उपकरणले अर्थात क्रेनले लिफ्ट गरेर माथि लैजान सक्छौं, यो उपकरणको सहायताबाट जतिसुकै अग्लो भवन पनि काट्न सक्छौं ।’
रेग्मीका अनुसार नयाँ प्रविधि र नयाँ उपकरण भित्र्याउँदा दक्ष प्राविधिक पनि सँगसँगै ल्याइनेछ र सँगसँगै नेपाली कामदारलाई पनि दक्ष बनाईनेछ । ‘मेशिनसँगै विदेशी प्राविधिक त ल्याउनै पर्छ, तयो प्याकेजमै आउँछ, सम्बन्धित कम्पनीले मेशिन सप्लाई गर्दा नै त्यो सेवा पनि दिनुपर्ने टेण्डर डकुमेन्टमै राखिएको हुन्छ, किनकी यहाँका प्राविधिकलाई पनि तालिम दिनुपर्छ’ भौतिक विकास तथा निर्माण विभाग प्रमुख डा. उत्तर रेग्मीले भन्नुभयो, ‘त्यो त्यस्तो किसिमको जटिल उपकरण होइन ।’
यस्तो उपकरण कहिले आईपुग्छ ? यो सबैको चासोको विषय हो । तर डाक्टर रेग्मी भने यो यो नियमित प्रक्रिया हो भन्नुहुन्छ । ‘यो नियमित गर्नुपर्ने काम भएकाले यो दिन नै आइपुग्छ भन्न गाह्रो छ, भोलिको दिनमा कानुन विपरीत काम गर्नेलाई दण्डित गराउन पनि हामीसँग उपकरण हुनैपर्छ ।
पुलिससँग हतियार भयो भने मात्र चोर डराउँछ, त्यस्तै हामीसँग हतियार भयो भने मात्र कानुन मिच्ने पनि तह लाग्छन् । मापदण्ड विपरीत घर बनाउने व्यक्तिहरु क्रमशः निरुत्साहित हुँदै जान्छन् । किनकी महानगरपालिकासँग उपकरण छ भने मैले मापदण्ड विपरीत घर बनाए भने भोलिपल्ट महानगरपालिकाले भत्काईदिन्छ भन्ने डरले कानुन पालना गर्छन नि त ?’
यसरी भत्काउने घर
भूकम्पले चर्काएको घरमा न बस्न मिल्छ न भत्काउने तरीकाको बारेमा नै थाहा छ । यस्तै अन्यौलमा तपाईं पनि पर्नु भएको छ भने घर भत्काउन निश्चित प्रक्रियाहरु पूरा गर्नुपर्छ र ती प्रक्रिया पूरा भएपछि गाउँ विकास समिति, उप महानगरपालिका वा महानगरपालिकाले भवन भत्काउन मद्दत गर्छ । तर भवन भत्काए बापत लाग्ने लागत भने घरधनी आफैले तिर्नुपर्छ ।
या त घरधनी आफैंले कामदार लगाएर पनि भत्काउन सक्छन् । यसका लागि शुरुमा वडा कार्यालय वा नगरपालिका तथा महानगरपालिकाको कार्यालयमा घर क्षति भएको निवेदन दिनुपर्छ । तपार्इंको घर भत्काउनु पर्ने यकिन भएपछि घरको लगत वडा कार्यालय वा नगरपालिकाले राख्छ र भत्काउनु अघि मुचुल्क उठाउँछ ।
भोलिको दिनमा राज्यले घर क्षति भएको व्यक्तिलाई राहत उपलब्ध गराउने भएमा तपाईंले त्यही लगतको आधारमा क्षतिपूर्ति पाउनुहुन्छ । आफ्नो नजिकको स्थानीय निकाय (वडा कार्यालय, गाविस, नगरपालिका, उपमहानगरपालिका, महानगरपालिका) को सल्लाह लिएर प्रक्रिया पूरा भएपछि मात्र घर भत्काउन शुरु गर्नुपर्छ ।
यस्ता घर राज्यले भत्काउन सक्छ
तपाईंको घर एकदमै जोखिमपूर्ण छ, त्यसले छिमेकीको घरलाई क्षति पुर्याउने सम्भावना छ वा तपाईको घरको कारण अन्य कुनै व्यक्तिको जीवन खतरामा परेको छ, तर पनि तपार्इं घर भत्काउन राजी हुनुहुन्न भने राज्यले घर भत्काउन सक्छ । सकभर तपाईंको सहमति घर भत्काउने प्रयास हुन्छ नै ।
तर राज्यले घर भत्काउनै पर्ने ठहर गरेको छ भने तपार्इंको घर भत्काउन तपाईको स्वीकृति अनिवार्य हुँदैन । काठमाडौ महानगरपालिका, भौतिक विकास तथा निर्माण विभागका प्रमुख डा. उत्तर रेग्मी भन्नुहुन्छ ‘सरकारले घर भत्काउने काम त्यत्ति सजिलो त छैन तर अर्कोको सग्लो घरलाई एकदमै क्षति पुर्याउने अवस्थामा इञ्जिनियरले घर हटाउनैपर्ने प्राविधिक कारण पेश गरेको खण्डमा घरधनीको सहमतिबिनै पनि घर भत्काउन सकिन्छ ।’
राज्यले चाहँदा चाहँदै पनि साँघुरो गल्लीमा राज्यको उपकरण आउन सक्दैन भन्ने धेरैले स्वीकार गरिसकेका घरधनी आफैंले भत्काईरहेको प्रमुख रेग्मीले बताउनुभयो । उहाँका अनुसार त्यस्ता घर भत्काउन आग्रह गर्दै आउने छिमेकीको संख्या समेत उल्लेख्य छ ।