महेश्वर नेपाल/उज्यालो । कतार, जेठ २६ – वैदेशिक रोजगारीका लागी कतार आएका ४३ जना नेपाली कामदार समयमा पारिश्रमिक नपाएपछि न्याय खोज्दै दूतावास पुगेका छन् । स्प्लेडिड जव सोलुसन प्रालि काठमाडौंबाट कतार आएका उनीहरुले ३ महिनादेखि पारिश्रमिक नपाएको पीडित गिरीबहादुर राईले बताउनुभयो ।
फेब्रुअरी १४ मा कतार आएकाहरुले १५ दिनको मात्र पारिश्रमिक पाउनुभएको छ । उहाँहरुले नेपालमा म्यानपावर कम्पनीले भनेको कामसमेत कतारमा नपाएको गुनासो गर्नुभयो । धनकुटाका गिरीबहादुरले भन्नुभयो ‘घरभीत्रको काम हो भनेर म्यानपावरले पठाएको थियो ।
तर यहा“ आएपछि त गैंती र बेल्चा बोकेर सडक खन्ने काम रहेछ ।’ ९ सय कतारी रियल न्युनतम तलब र दुई सय रियल खाना खर्च पाउने सम्झौता गरेर उनीहरु कतार आएका हुन् । तर उनीहरुले सम्झौताअनुसारको तलब सुविधा पनि पाएका छैनन् । नेपालको म्यानपावरलाई फोन गर्दा पनि वास्ता नगरेको सप्तरीका गजेन्द्रकुमार रामले बताउनुभयो ।
कम्पनीले फ्रि भीसा र फ्रि टिकट दिएको भएपनि आफूहरुलाई म्यानपावरले जनही एक लाख रुपैयाँ लिएर ठगेको पीडित हेमकुमार राईले बताउनुभयो । तर म्यानपावरले पाँच हजार रुपैयाँको मात्र रसिद दिएको छ । पीडितहरुलाई कम्पनीले मेडिकल र भिसा कम्पनीले लगाइदिएको छैन । कतारको नियम अनुसार कामदार आएको तीन महिनाभित्र मेडिकल जाँच र भीसा लागाउनु पर्ने नियम छ ।