डा. ब्रियन मेटरस् – त्यो शनिबार पनि बेलायतमा सधैं झै बिहानै मेरी श्रीमतिको फोनको घण्टी बज्यो । सधै जस्तै फोन गर्ने पनि उनै दुइजना थिए, काठमाडौंमा बस्ने मेरो श्रीमतिकी दिदी र उनकी भतिजी । तर फोनमा पहिलेका शनिवारको जस्तो हाँसो, नेवार भाषामा हुने खुसी र ठट्टा भएनन् । त्यसो त म नेवार भाषाका शब्द बुझ्दिन । तर त्यो दिन मेरी श्रीमतीको मुखबाट एकाएक चिच्याहट निस्कियो र अनुहारमा डरलाग्दो त्रास फैलियो । थाहा भयो, काठमाडौमा डरलाग्दै केही भएछ !
त्यसको दुई हप्तासम्म जतिबेला फोनले साथ दिन्थ्यो, हरेक दिन घण्टौ फोनमा कुरा भए । तर स्काइपलाई धन्यवाद, फोनले काम नगर्दा पनि धेरै मानिसले सित्तैमा कुरा गर्न पाए । काठमाडौका भत्केका घर र ढलेका पर्खालहरुका बीचबाट पारिवारिक जानकारी आउन थालेपछि हामीलाई थाहा भयो, परिवार र नातागोता सबै सकुसल रहेछन् । हामी टेलिभिजन हेथ्र्यौ । के गर्ने ? सहयोगका लागि हामीले च्यारीटीबाट रकम संकलन गर्न थाल्यौ । बिस्तारै हामीले काठमाडौंको हाम्रो एनजिओका लागि सहयोग गर्न थाल्यौ । अझै बिस्तारै नेपाल सरकार र राजनैतिक नेताले अप्ठेरो समयमा नेपाली नागरिकका चाहना पुरा गर्न नसकेका कुराहरु पनि उठ्न थाले ।
भुईचालो जाने समयको पूवार्नुमान गर्न नसके पनि भुइृचालोले ल्याउने विपत्तिको मात्रा पहिल्यै अनुमान गरिएको थियो । त्यसैले सरकार असक्षम भयो भन्ने सुनियो । पहिल्यै ठूलो क्षतिको अनुमान गरिएकोले भुकम्पले गरेको क्षतिको विषयमा कोही पनि विचलित भएको देखिएन र क्षति देखेर कोही छक्क पनि परेन ।
विपत्ति लगत्तै र केहि हप्तासम्म पनि हामीले यस्ता प्रधानमन्त्रीलाई देख्यौं, जस्ले विपत्ति भएको तीनदिनसम्म देशवासीलाई सार्वजनिक रुपमा केही भनेनन् । हामीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट आएका उद्धार टोलीलाई कसरी व्यवस्थित गर्ने भनेर अनुभव नभएका अधिकारीहरुले धेरै उध्दारक विमानहरु फर्काएको पनि देख्यौ । भूकम्प प्रभावित ग्रामिण क्षेत्रमा राहत नपाएर छटपटाईरहेका नागरिकहरु देख्यौ र उनीहरुका लागि ल्याईएका राहत साम्रगीहरु विमानस्थलमा थुप्रिएको पनि देख्यौ । राजधानी काठमाडौंकै भूकम्प पीडितहरु आफै प्लाष्टिक, पाल, त्रिपाल र कार्डबोर्ड किनेर बस्ने ठाउँ बनाउन बाध्य भएको पनि देख्यौ । अनि देख्यौ, आफूले सहयोग गर्न सकेको वा गर्न नसकेको, आर्थिक सहयोग जम्मा गर्न हुने वा नहुने, एनजिओले स्वतन्त्र भएर काम गर्न हुने वा नहुने भनेर सरकारबाट कहिले एउटा र कहिले अर्को दोधारे र मिश्रित संदेश प्रवाह पनि । हिजोआज त राजनीतिक दल र नेताहरुले राजनैतिक संयन्त्र, विपत्ति संयन्त्र, सबै राजनैतिक पार्टीको सहमति लगायतमा छलफल शुरु गर्न थालेको पनि देखिदैछ । साँच्चै नै अविश्वसनीय छ ! नेपाल सरकारलाई न विश्वास गर्न सकिने, न त पूवार्नुमान नै गर्न सकिने !
संविधान लेख्न भनेर नेपालमा दल र सरकारले ८ वर्ष बिताइसके । तर संविधान त परैको कुरा, सरकारले त्यसको खाका पनि तयार गर्नसकेको छैन । यीनै दल र नेता भएका सरकारका कारण बितेका पाँच वर्षमा एसएलसी उतिर्ण हुनेको संख्या १४ प्रतिशतले घटेको छ । सधै पेटोलियम पर्दाथको अभाव छ, लोड सेडिङ बढेको बढ्यै छ, स्वास्थ्य सेवा खस्केको छ । मेडिकल शिक्षा पद्धति अव्यवस्थित भएको छ, मानव अधिकारको स्तर खस्किरहेको छ, द्वन्द प्रभावितहरुले न्याय पाएका छैनन् । अपराध, भ्रष्टाचार र नातावाद बढिरहेको छ । अनौठो कुरा, नीजि तथा निर्वाचित भएका पार्टीहरुले नागरिकको हित विपरित र नागरिकले थेग्नै नसक्ने गरि बन्द र हडतालहरु पनि गरिहेकै छन् ।
त्यसैले म मुख्य प्रश्न गर्न चाहन्छु यस्ता खराव पुराना रेकर्डहरु भएको सरकारसित पनि नागरिकले यो बिपत्तिको बेलामा किन सरकारसित उस्को सक्षमताको आशा गर्छन् ? यो प्रश्न र यति कुरा गरिसकेपछि मैले किन यो कुरा गरे भनेर मेरो नीहित स्वार्थको कुरा पनि गर्नुछ ।
कुरा के भने मेरी श्रीमति नेपाली हुन् । मैले उनीसँग विवाह गरेको ४४ वर्ष भयो । हाम्रा धेरै नातागोता काठमाडौंमा बस्छन् । मेरो सन्तान आधा नेपाली हुन् । शिक्षाको क्षेत्रमा काम गर्न हामीले काठमाडौमा नेपाली नागरिकले काम गर्ने गरि यूके च्यारिटी नामक संस्था खोलेका छौ । तर म एक मनोवैज्ञानिक पनि हुँ । प्रणाली (व्यवस्था) र संगठन रुपान्तरणको बिषयमा काम गर्ने म मान्यताप्राप्त विज्ञ पनि हुँ । साथै म बितेका ८ बर्षदेखि नेपालको शिक्षा मन्त्रालयलाई आफ्नो सक्षमता विकास गर्नुप¥यो भनेर कचकच गर्ने र कुकुरले झै भुक्ने काम गरिरहेको मानिस पनि हुँ । अफसोच, मेरो भुकाई वा आवाज खेर गइरहेको छ ।
प्रथमतः, डी एसमोग्लु तथा जे ए रोविन्सनको उत्कृष्ठ पुस्तक “ह्वाई नेसन फेल, द ओरिजिन अफ पावर, प्रष्पेरिटी एण्ड पोभर्टी”मा उल्लेख गरिएका केहि बुँदासँग नेपाल सरकार र यसको गतिविधिलाई तुलना गर्न चाहन्छु । यो पुस्तकका लेखकहरुले धेरै उदाहरण र अनुभव केलाएर कुनै पनि देश गरिव वा धनी हुनुको कारण भूगोल वा संस्कृति मात्र होईन भन्ने पुष्टि गरेका छन् । साथै मानिस धनी वा गरिब हुने कारण मानिसले बनाएका आर्थिक र समाजिक संस्थाहरु समावेशी छन् कि छैनन् भन्ने बहुलवादी राजनैतिक प्रणालीले निक्यौल गर्दछ भनेका छन् ।
छोटकरीमा भन्ने हो भने लेखकहरुले सरकार र नेताहरुलाई गरिव र धनी हैन, समाबेशी वा असमाबेशी भनेर वर्गिकरण गरेका छन् । यो कुरा मैले धेरै ब्याख्या गर्नुपर्ला जस्तो लाग्दैन । स्पष्टै छ, नेपालमा असमाबेशी वर्गका नेताहरु छन् । जो प्रणाली वा व्यवस्था विपरित भए पनि व्यक्तिगत शक्ति र व्यक्तिगत धन आर्जन गर्न, आफ्ना त्यस्ता कामका बिरोधीलाई तह लागउन, तर्साउन समेत तत्पर हुन्छन् र यस्ता अवसर छोडदैनन् ।
तर मलाई उल्टो नबुझ्नुहोला । यस्तो प्रकारको सरकार भएको देश नेपाल मात्र होइन । किताबमा धेरै नै उदाहरणहरु दिईएका छन्।
दोश्रो कुरा, विटिश सोइकोलोजिकल सोसाइटीको जर्नलको मे मेहिनाको संस्करणमा हेलेना कुपर थोमस, जो सिल्भेस्टर र मेडेलिएन वाटले अहिलेसम्म वास्ता नगरिएको एउटा मुद्दा, नेताहरुले आफनो भूमिकालाई सक्षम र प्रभावकारी बनाउन कस्ता तालिम लिन्छन्, सीप सिक्छन र उनीहरु कुन पृष्ठभूमिबाट आएका हुन् भनेर चाखलाग्दो छलफल अघि सारेका छन् । के उनीहरु व्यापारी हुन्, के उनीहरुले समूह सञ्चालन गरेका छन्, के उनीहरु ईञ्जिीनियर, डाक्टर तथा यस्तै व्यवसायिक दक्षतासहित राजनीतिमा आएका हुन् । त्यसैले, नेपालको सन्दर्भमा प्रश्न उठ्छ नेताहरुको राजनीतिमा लाग्नु अघिको पृष्ठभूमि के हो ? उनीहरुको व्यावसायिक पृष्ठभूमि छ कि छैन ? पहिले उनीहरुले मानव समूह व्यवस्थापन गरका छन् कि छैनन् ? शिक्षा, स्वास्थ्य, इन्जिीनियरिङ, आर्थिक, बैकिङ लगायतका क्षेत्रमा उनीहरुको विशेषज्ञता छ कि छैन ? पहिले मानव अधिकार, सामुदायिक विकासको लागि केहि असल काम गरेका छन् कि छैनन् ? कुनै नेताले कसरी संचार गर्ने, संस्था सञ्चालन, बैठक व्यवस्थापन, निर्णय लिने तरिका, बजेट निर्माण लगायतमा तालिम लिएका छन् कि छ्रैनन् ? यस्तो सूची लामै हुन्छ, तर नेपालका सन्दर्भमा यो धेरै कुरा गर्न पर्दैन । त्यसैले, म त्यतातिर पनि नलागुँ ।
तेश्रो तथा अन्तिम कुरा, मैले धेरै वर्षदेखि नेपाल र बेलायतमा नेतृत्व विकास गर्नेबारे शिक्षा र व्यापार क्षेत्रका मानिसहरु, बिशेषगरि बिद्यालयका प्रधानाध्यापकहरुका लागि तालिम र सेमिनारहरु गरेको छु । मैले नेतृत्व र व्यवस्थापन विचको भिन्नता के हो भन्ने बिषयमा केन्द्रित भएर उनीहरुलाई बुझाउने काम गरेको छु ।
दूरदृष्टि, मूल्य र विकास कुनै पनि नेतृत्वका लागि नभई नहुने तत्व हुन् । पहिलो कुरा दूरदृष्टि भएपछि मानिसहरु नेताको पछि लाग्छन्, उस्का समर्थक बढ्छन्, किनभने उनीहरुले अरुलाई भन्ने कुरा पाउँछन् ।
दोस्रो कुरा, दृष्टिकोण सँगै नेताले मूल्यमा अडिग हुनुपर्छ । मूल्यमा अडिग रहने नेताले मात्र आफ्ना दृष्टिकोण र मान्यता लागू गर्न सक्छ र अन्ततः यस्ले पनि नेताका समर्थकहरु बढाउन मद्दत गर्छ ।
तेस्रो तत्व विकास हो जस्ले दूरदृष्टि –भिजन) र मान्यतालाई एकै ठाँउमा ल्याउँछ । दूरदृष्टि र मूल्यलाई एक ठाउँमा ल्याउनेका लागि नभै नहुने तत्व हो विकास । विकास भनेको नेताले ल्याउन खोजेको परिवर्तन हो, सकारात्मक परिवर्तन । विकासले भैरहेको अवस्थालाई परिवर्तन गर्छ । शिक्षा, स्वास्थ्य, हाइड्रो पावर, आर्थिक लगायतका क्षेत्रलाई विकास गर्ने लागि विभिन्न रणनीतिहरु छन् । त्यसलाई विवेकशील भएर प्रयोग गर्न सक्नु नै सक्षम नेताको गुण हो । आफनो दूरदृष्टिलाई काममा परिणत गर्न कडा र त्यस अनुरुप मान्यताहरु बनाउन सके मात्र नेताहरुले अनुयायी बढाउन सक्छन् ।
अन्तमा, अर्को मुख्य प्रश्न, नेपालमा नेता भनिएकाहरु कति जनासँग दूरदृष्टि, मान्यता र विकासका गतिविधिलाई कार्यान्वयन गर्न सक्ने खुबी छ त ?
र म मेरै कुरामा फर्कन चाहन्छु । असक्षमता भनेको नेपालका नेताका लागि न त आश्चर्यको बिषय हो, न त नेपालका नेताहरुको लागि विपत्ति व्यवस्थापन गर्ने विशेष अवस्था नै छ । नेपाल साधारण समस्याहरु सामना गरिरहेको देश हो । अहिलेको नेतृत्व भुईचालोले ल्याएको बिपतिको अवस्थालाई पार लाउन सक्षम छैन ।
फेरि कुनै पनि देश किन असफल हुन्छ भन्ने कुरामा फर्कौं । प्रभावहीन व्यवस्थापन र राज्य नै भ्रष्ट भएको कारण नेपाल पछाडि परेको हो, र यस्तो राज्यमा नागरिकले आफुसित भएको प्रतिभा, सीप, कौसल र शिक्षालाई खुलेर प्रयोग गर्न पाउँदैनन् । देशको विकास र प्रतिभा साघुरिनुको मुख्य कारण राजनीति नै हो भन्ने नागरिकलाई थाहा छ । नेपालमा सिमित धनीमानी वर्गको राजनीतिमा रहेको एकाधिकारले आर्थिक विकास असंभव भएको हो र यसको मुख्य कारण नेतृत्वको असक्षमता हो । त्यसैले सबैभन्दा पहिले परिर्वतन गर्नु पर्ने पनि यही नै हो ।
त्यसैले साधारण खालका सबै क्षेत्रमा असक्षम नेपाल सरकारले विपद व्यवस्थापनमा देखाएको असक्षमताका लागि नेपाल सरकारलाई गाली मात्र नगरौ र दोष मात्र नदिउँ । बरु किन असक्षम भए भनेर उनीहरुलाई बुझन खोजौ । त्यसो गरियो भने मात्रै बरु केही सकारात्मक परिवर्तन आउला !
