पाठेघरको ७ किलोको ट्युमर डाक्टरले निकाले

शैलैन्द्र महतो/उज्यालो । जनकपुरधाम, साउन १९ - एक महिलाको पाठेघरमा रहेको सात किलो दुई सय ग्रामको मासुको डल्लो (ट्युमर) डाक्टरले सफलतापूर्वक शल्यक्रिया गरेर निकालेका छन् ।  
महोत्तरीको जलेश्वर नगरपालिका १४ की ३४ वर्षकी प्रमिलादेवी राय यादवको पाठेघरमा रहेको ७.२ किलोग्रामको ट्युमर जनकपुर अञ्चल अस्पतालका स्त्री रोग तथा प्रसुती रोग विशेषज्ञ डा.रामजी यादवले शल्यक्रिया गरी निकाल्नु भएको हो । ट्युमर बाहिर निकालेपछि प्रमिलाको अवस्था सामान्य रहेको डा.यादवले बताउनुभयो । प्रमिलाको पेटबाट ७ दशमलव २ किलोको ट्युमर निस्किएपछि हेर्नेहरुको भिड लागेको थियो । चार महिना अघिदेखि मात्र पेट दुख्न थालेपछि प्रमिलाको पेटमा केहि छ भन्ने थाहा पाएको श्रीमान दिनेशले बताउनुभयो । प्रमिलाको उपचार गराउन भिन्न ठाउँहरुमा जाँदासमेत उपचार नभएको र केहि दिन अगाडी मात्र पाठेघरमा ट्युमर छ भनेर थाहा पाएको दिनेशको भनाई छ । 
उहाँका अनुसार गएको साउन १२ गते जनकपुर अञ्चल अस्पतालमा समान्य उपचार पश्चात घर फर्केर सोमबार पुनः अस्पतालमा उपचार गराउन आएपछि डा.यादवले शल्यक्रिया गरी ट्युमर बाहिर झिक्न्नु भएको हो । जनकपुर अञ्चल अस्पतालमै डा.यादवले सफलतापूर्वक शल्यक्रिया गरेर ट्युमर झिकिदिएपछि प्रमिलाको घरपरिवार खुसी छ । प्रमिलाका चार जना छोरा छोरी छन् ।