७ भदौ, टीकापुर । कैलालीको
टीकापुरमा सोमबार दिउँसो सरकारी
कार्यालयहरुमा ‘थरुहट स्वायत्त प्रदेश’ को
बोर्ड राख्ने कार्यक्रम थियो ।
कार्यक्रमको आयोजक थियो ‘थारुवान्
संयुक्त संघर्ष समिति, जसमा सत्तारुढ
कांग्रेस र एमालेका थारु नेताहरुसमेत
सहभागी छन् ।
बोर्ड राख्ने कार्यक्रमका लागि टीकापुर
नगरपालिका र आसपासका थारु बाहुल्य
गाविसबाट मानिसहरु टीकापुर बजारतर्फ
आएका थिए । पूर्वी भागको बर्दिया
जिल्ला बाहेकका विभिन्न ठाउँबाट
मानिसहरु टीकापुर आएका थिए ।
जोशीपुर लगायतका क्षेत्रबाट
मानिसहरुको हुल टीकापुरतिर आएको
थियो ।
सरकारका तर्फबाट पनि सरकारी
कार्यालयमा सुरक्षा दिने हेतुले प्रहरी र
सशस्त्र प्रहरीहरु परिचालन गरिएको
थियो ।
यसै क्रममा टीकापुर-६, शंकरपुरस्थित पशुहाट
नजिकै रहेको भीडनजिकै एसएसपी लक्ष्मण
न्यौपानेको टोली पुग्यो । एसएसपीले
न्यौपानेले गाडीबाट ओर्लेर भीडलाई
सम्झाउनमात्रै के लागेका थिए, त्यहीबेला
एक हुल अगाडि बढ्यो र प्रहरी जवान
लक्ष्मण खड्कामाथि आक्रमण शुरु भयो ।
लगत्तै एसएसपी न्यौपाने र केही प्रहरीलाई
भीडले नियन्त्रणमा लियो र केही पर
पुर्याएर कुटपिट गर्दै पेट्रोल छर्केर आगो
लगाई हत्या गरेको प्रत्यक्षदर्शीले
बताएका छन् ।
शंकरपुरका साथै मुनुवा-१ को कञ्चनपुर भन्ने
ठाउँमा पनि प्रहरी र प्रदर्शनकारीवीच
झडप भएको थियो । घटनास्थलमा
खटिएका रेडक्रसमा कर्मचारीले दिएको
जानकारी अनुसार प्रदर्शकारीले हातमा
भाला, लाठी र गुलेली लगायतका घरेलु
हतियारहरु बोकेका थिए । भीडमा
बालबालिका र महिलाहरुसमेत थिए ।
अस्पतालमा बेहाल
झडपपछि टीकापुर अस्पतालको स्थिति
बेहाल बन्यो । अस्पतालमा प्रहरीका ७
वटा शवहरु संकलन गरिएका थिए । करीब ५६
जना घाइते प्रहरीलाई उपचार गर्ने स्थान
नरहेर बाहिरै राखिएको थियो । थारु
समुदायका आधा दर्जनजति घाइतेहरु
अस्पतालमा देखिन्थे ।
घटनामा मृत्यु हुने जनपथ प्रहशरीका ५ र
सशस्त्रका दुई प्रहरीको शव पोष्ट
मार्टमका लागि अस्पतालमा राखिएको
छ । झडपमा परी निधन हुनेमा एसएसपी
लक्ष्मण न्यौपाने, इन्स्पेक्टरद्वय बलराम
बिष्ट, केशव दाहाल र प्रहरी जवान लक्षमण
खड्का एवं लोकेन्द्र चन्दसमेत छन् । त्यस्तै
सशस्त्र प्रहरी हवल्दारद्वय ललित साउद र
रामबिहारी चौधरीको शव पनि
अस्पतालमा राखिएको छ ।
हिंसात्मक झडपपछि प्रहरीले फायर
खोलेको थियो । गोली चल्न थालेपछि
प्रदर्शनकारीहरु पछि हटेका थिए । दिउँसो
२ बजेदेखि कर्फ्यु जारी गरिएपछि अपरान्ह
झडप साम्य भए पनि टीकापुरको स्थिति
तनावपूर्ण नै रहेको छ ।
काठमाडौंमा केपी ओलीले झडपमा
प्रदर्शनकारीका तर्फबाट एसएलआर
राईफलकाट गोली चलाइएको बताए पनि
प्रदर्शनकारीतर्फबाट गोली चलेको
अहिलेसम्म पुष्टि भएको छैन । मृतक एवं घाइते
प्रहरीहरुमाथि लाठी, भाला, एवं घरेलु
हतियारबाट आक्रमण एवं कुटपिट भएको
पाइएको छ ।
घटनाको प्रकृति हेर्दा भड्किएको भीडले
प्रहरीमाथि आक्रमण गरेको देखिन्छ ।
(टीकापुरका पत्रकार एवं स्थानीय
प्रत्यक्षदर्शीहरुको भनाइमा आधारित)