सुरक्षाकर्मीको ज्यान लिने घटना निन्दनीय : ओली

काठमाडौं, भदौ  ७ - नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कैलालीमा आन्दोलनका नाममा सुरक्षाकर्मीको ज्यान लिने घटनाको  निन्दा गर्दै सरकारले तत्काल आवश्यक कदम चाल्न आग्रह गर्नुभएको छ ।
प्रेस चौतारी नेपालले काठमाडौंमा गरेको अन्तर संवाद कार्यक्रममा उहाँले नगरिकको शान्तिसुरक्षाका लागि खटिएका सुरक्षाकर्मीमाथिको ज्यादती निन्दनीय भएको भन्दै सरकारले आवश्यक कारबाही तत्काल गर्न माग गर्नुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो, “शान्तिसुरक्षाका लागि खटिएका सुरक्षाकर्मीमाथि आतङ्कवादीले ज्यान लिएका छन्, यो अत्यन्तै राजनीतिका नाममा कसैले पनि अपराधीलाई त्यतिकै छाड्न हुँदैन ।”
संविधान जारी गर्ने अन्तिम बिन्दुमा आइसकेको अवस्थामा यस्ता खालका घटनाले संविधान बन्न नदिने षड्यन्त्र भइरहेको उल्लेख गर्दै उहाँले कैलालीमा सुरक्षाकर्मीको ज्यान लिने थारू समुदाय नभएर आतङ्ककारी क्रियाकलापमा संलग्न व्यक्ति भएको बताउनुभयो ।
अध्यक्ष ओलीले आफ्ना मागहरु सुरक्षित तरिकाले राख्न र त्यस्ता अपराधी तत्वलाई जनताले समातेर प्रहरीलाई बुझाउन आग्रह गर्नुभयो ।
पार्टीका वरिष्ठ नेता झलनाथ खनालले कैलाली घटनाप्रति दुःख व्यक्त गर्दै हिंसाका रुपमा प्रस्तुत हुनु जघन्य अपराध भएकाले राज्यले यसलाई तत्काल सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले संविधान बन्न नदिने आतङ्कवादी तत्वले यस्ता मानवता विरोधी क्रियाकलाप गरेको भन्दै यस्ता अपराधी गतिविधिलाई राज्यले तत्काल नियन्त्रणमा लिनुपर्ने बताउनुभयो ।