नायिका तथा समाजसेवी रेखा थापाले संविधान निर्माणको नाममा देशमा भैरहेको जातीय तथा राजनीतिक हिंसाप्रति खेद प्रकट गरेकी छिन । पार्टी, व्यक्ति र समूह भन्दा २ कदम माथि उठेर देश र जनताप्रति उत्तरदायी बन्न सम्पूर्ण राजनीतिक दल , समूह र संस्थाहरुप्रति पनि उनले आग्रह गरेकी छिन । अहिले राष्ट्र र जनताले पूर्ण प्रजात्रान्तिक संविधान, स्थिर राजनीतिक र दिगो शान्ति मात्र चाहेको पनि बताएकी छिन । नेपालले प्रदेश विभाजन धेरै लामो सयमसम्म थेग्न नसक्ने पनि उनले ठोकुवा गरिन । नेपालका केही गन्य नेताहरुभन्दा बहुसंख्यक नेताहरुलाई प्रान्तीय र केन्द्रीय सरकारको अवधारणा समेत थाहा नभएको उनले दावी गरिन । धेरैजसो नेताहरु आफ्नो स्वार्थमा लागेकाले अहिले नै प्रान्तीय सरकार नेपालले धान्न नसक्ने उनको तर्क छ । ‘जव प्रान्तीय सरकार र मुख्यमन्त्री घोषणा हुन्छन । तव मधेशबाट पहाड र पूर्वबाट पश्चिम जान प्रतिवन्ध लाग्छ । किनकि हाम्रा नेताहरु अहिले राष्ट्र स्वार्थ होइन कि व्यक्तिगत स्वार्थमा केन्द्रित छन ।’ उनले थपिन ‘त्यसैले धेरै सोचेर मात्र प्रान्तीय सरकार घोषणा गर्न म सरकारसँग अनुरोध गर्दछु ।’ राष्ट्र प्रमुख जनताको प्रत्यक्ष मतबाट नै चुनिनु पर्ने र राष्ट्र प्रमुखको कार्यकाल एउटा निश्चित अवधिसम्मको लाग मत्र हुनुपर्ने पनि उनले बताइन । उनले भनिन ‘जनताको चाहना विपरित एउटा व्यक्ति पाँचौँ पटक पनि राष्ट्रप्रमुख बन्नु जायज होइन । राष्ट्रपतिको कार्यकाल चार वर्ष र दुई पटकसम्म मात्र राष्ट्रपति बन्न पाउने व्यवस्था राख्दा राम्रो हुन्छ । ’ संसदबाट या कुनै पार्टीका नेताहरुले मात्र राष्ट्र प्रमुख चुन्ने पुरानो राजनीतिक ढर्रा तुरुन्त परिवर्तन हुन जरुरी भएको उनले औल्याइन । ‘आजको बैज्ञानिक युगमा पुरानो सोच र विचार भएका अगुवाहरुबाट देशले कुनै परिवर्तन पाउन सक्दैन’ उनले भनिन ‘देशले कुनै परिवर्तन पाउन नसक्ने बरु झनझन राजनीतिक विनाशतिरधकेलिदै जान्छ । जति प्रदेश अनि जति टुक्रा बनाएपनि प्रदेशका नेता अनि मन्त्री तिनै पुरानो ढर्राका नेताहरु रहने हुँदा प्रदेशले कुनै प्रगति गर्न सक्दैन । पुरानै राजनीतिक खिचातानी मा अल्झिने प्रदेशको कमजोरीले केन्द्रीय सरकार झनै कमजोर बन्ने अनि देश सिक्किम तथा भुटान बन्ने निश्चित छ ।’ धेरै पहिलादेखि नै नेपाललाई जातीय युद्धमा फसाएर विदेश मन्त्रालयको मातहतमा नेपाललाई चलाउने र भुटानको मोडल अनुरुप नेपाललाई कब्जा गर्ने विदेशी रणनीति पूर्ण रुपमा सफल हुन लागेको पनि थापाले दावी गरिन । ‘हाम्रो देशका नेताहरु शिक्षित र प्रयोगात्मक हुनुहुन्न, कतिपय सभासदहरुलाई त आफ्नो नाम लेख्न पनि आउँदैन । बाबुबाजेको विर्ता स्वरुप राजनीतिक पद ओगटेर बस्नुभएको छ । थापाले भनिन ‘अब मलाई भन्नुहोस–उहाँहरुले के केन्द्रीय सरकार, कुन प्रदेश कसरी बन्यो भन्ने कुरा जनताहरुलाई बुझाउन सक्नुहुन्छ ?’ केहीसमय अगाडि नेपालमा गएको महाभूकम्पको धक्का भन्दा ठूलो राजनीतिक महाविचलनको धक्काबाट नेपाली जनताले दुःखको सामना गर्दै राष्ट्रिय स्वाधिनता गुमाउनु पर्ने भन्दै उनले दुःख व्यक्त गरिन । ‘मेरो विचारमा हाम्रा देशका प्रमुख नेताहरु केन्द्रीय सरकारको ढाचा भएको देशहरुमा गएर पहिले केन्द्रीय मोडल अध्ययन गरेर नेपालमा कस्तो मोडलको प्रान्त बनाउने भन्ने विषयमा सहमति गरे मात्र देश जातीय र राजनीतिक द्धन्द्धबाट बच्छ’ उनले भनिन ‘ होइन भने यो प्रान्तीय राज्यको निर्णय लिए हालै नेपालमा गएको महाभूकम्पको धक्का भन्दा ठूलो राजनीतिक महाविचलनको धक्काबाट नेपाली जनताहरुले दुखको सामना गर्दै आफ्नो राष्ट्रिय स्वाधीनता गुमाउनु पर्नेछ ।’ अमेरिका, क्यानडा तथा युरोपजस्ता अति विकशित देशहरुले त सबै धर्म, संस्कार अनि जातजातिलाइ सम्मान गर्दै बहु धार्मिक देश भनेर गर्व गरिरहेको अवस्थामा हामी आ–आफ्नै तरिकाले यो धर्म र त्यो धर्म भन्दै देशलार्इ मुठभेडतिर उन्मुख गर्न नहुनेमा उनको जोड छ । सबै धर्म, जातजाति, गरिब–धनी, महिला–पुरुषको सम्मान गर्दै सबैले समान अधिकारको प्रयोग गर्दै बाच्न पाउने अधिकारको रक्षा नेपालको नयाँ संविधानले गर्नुपर्छ ।