.पोखरा, वैशाख २ – पोखराको रामघाटमा रहेको स्वामी नरनारायण बाबा आश्रममा शुक्रबार बिहान आठ बजेदेखि नै मानिसहरुको चहलपहल सुुरु भैसकेको थियो । नौ बजेतिर माइकबाट भनियो ‘सुरक्षाकर्मी मित्रहरु, अब आश्रम परिसर रहेको कम्पाउण्डभित्र उभिने ठाँउ पनि रहेन । गेट बन्द गरिदिनुपर्यो ।’सुरक्षाकर्मीहरुले गेट बन्द गरिदिए । आश्रमतिर आइरहेका हुलका हुल मानिसहरु बैरागी वनभरि (आश्रम वरिपरीको वन क्षेत्र) नै छरिन थाले । केहीबेरमा बैरागी वन पनि मान्छेहरुले भरियो । कोही रुखमाथि पनि चढ्न थाले । भेला भएका सबैको मनमा एउटै मात्र कौतुहलता मच्चिएको थियो, नौ दिनअघि बाकसमा हालेर पुरिएका स्वामी कृष्णदासजी कुन हालतमा होलान् ?स्वामी कृष्णदासजीले दिनुभएको समय अनुसार साढे नौ बजेदेखि नै भू–समाधी कक्षमा पूजाआजा सुरु भयो । उहाँलाई राखिएको बाकसलाई माटोल पुरेर त्यसमाथि छरिएको जमरा भररर उम्रिएका रहेछन् । पूजासँगै जमरा उखेल्ने काम पनि सुुरु भयो । बाहिर मानिसहरुको ठेलमठेल भीड लागिसकेकोथियो । कोठाभित्र भैरहेका गतिविधिलाई ठाँउठाँउमा राखिएका टेलिभिजन सेटहरुबाट प्रत्यक्ष प्रसारण गरिएको थियो । सबैजना एकोहोरो टेलिभिजन सेटमा हेरिरहेका थिए । जमरा उखेलिसकेपछि माटोका चपरीहरु निकालियो । त्यसपछि बाकस बेरिएको प्लाष्टिक निकालियो ।बाकसमा लगाइएका चारओटा ताला जस्ताको तस्तै अवस्थामा थिए । जसजसलाई चाबी जिम्मा लगाइएको थियो तिनीहरु सबै भएर चापी खोले । त्यतिबेलासम्मसबैको मनमा एउटै कुरा खेलिरहेको थियो, स्वामी कृष्णदास जीको हालत के छ ? बाहिर भेला भएका मानिसहरु पनि आपसमा त्यही कुरा गर्दै थिए । कोही भन्दै थिए, कहाँ जीवित हुनु ? बाकसको ढकनी खोल्दैमा गन्ध आइहाल्छ होला । कोही भन्दै थिए, बासकभित्र कुहिएको लाश होला, खोल्नासाथै सुरक्षाकर्मीले आयोजकलाई समात्न थाल्छन् । यहाँ भागदौड मच्चिन सक्छ ।
विस्तारै बाकसको ढकनी पनि खोलियो । स्वामी कृष्णदासजी जुन आसनमा सुतेका थिए त्यही आसनमा टेलिभिजनको स्क्रीनमा देखिए । तर अझै धेरैलाईखुल्दुली नै थियो । जीवित छन् की मरेका । स्वामीका उत्तराधिकारी गोविन्दबाबु तिवारीले केहीबेर उहाँको स्वास नली मालिस गर्नुभयो । केहीबेरपछि स्वामी कृष्णदासजीको हातका औला चले । अनि सुुरु भयो ॐ कारर स्वामीको जयजयकार । केहीबेरपछि स्वामी काम्नुभयो र उठेर ध्यानमुद्रामा बस्नुभयो । झण्डै एक घण्टाको पूजाआजा र ध्यान कसरतपछि उहाँ सर्वसाधारणको दर्शको लागि बाहिर निस्कनुभयो ।डाक्टरहरु आश्चर्यमा - स्वामी कृष्णदासजीले बिना अक्सिजन नौ दिनसम्म भू–समाधी पूरा गर्नुभएकोमा पोखराका वरिष्ठ डाक्टरहरु आश्चर्यमा परेका छन् । पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका मेडिकल सुपरीटेण्डण्ट डा. श्रीकृष्ण श्रेष्ठ, बरिष्ठ मुटुरोग विशेषज्ञ डा. नारायण गौतम, डा. कालु शर्मा लगायतका डाक्टरहरुले समाधिस्थलमा नै भने,‘हामी आश्चार्यमा पर्यौं । चिकित्सा विज्ञानले असम्भव प्रमाणित गरिसकेको काम भएको छ ।’‘केही जीवहरु जस्तै : भ्यागुता, सर्पहरु केही महिना दुलाभित्र भोकै बाँच्न सक्ने भएपनि तिनीहरुले पनि केही न केही रुपमा अक्सिजनको प्रयोग गरेकै हुन्छन्’ बरिष्ठ डाक्टर कालु शर्माले भन्नुभयो, ‘तर मान्छेको मस्तिष्क अक्सिजन बिना तीन मिनेटदेखि जीवितै रहनै नसक्ने चिकित्सा विज्ञानले प्रमाणित गरेको छ । स्वामी जी कसरी नौ दिनसम्म बाँच्नुभयो । विश्वकै लागि अनुसन्धानको विषय बनेको छ ।’ समाधी बस्नुभन्दा एकहप्ता अघिदेखि नै निराहार बसेका स्वामी कृष्णदासजीको स्वास्थ्य अवस्था कत्ति पनि अस्वस्थ थिएन भन्दै बरिष्ठ मुटुरोग विशेषज्ञ डा. नारायण गौतमले भन्नुभयो, ‘नौ दिनपछि पनि परीक्षणबाट त्यही अवस्थ भेटिनुलाई हामी दैवी शक्तिभन्दा केही भन्न सक्ने अवस्थामा छैनौँ ।’देखासिकी नगर्न सुझाव - पोखराका बरिष्ठ डाक्टरहरुले स्वामीजीको भू–समाधीको देखासिकी नगर्न सुझाव दिएका छन् । कसैले देखासिकी गरेमा ज्यान जाने डाक्टरहरुले ठोकुवा गरेका छन् । स्वामी कृष्णदासजीले निकैयोगअभ्यास गरेपछि मात्रै यो दैवी शक्ति प्राप्त भएको निश्कर्ष निकाल्दै डाक्टरहरुले यो चानेचुने विषय नभएको बताएका छन् । डा. नारायण गौतमले भन्नुभयो, ‘यो चानेचुने विषय नै होइन । हामी पनि अनुसन्धान गर्दैछौं । यसले आधुनिक चिकित्सा विज्ञानलाई नै चुनौति दिएको छ । देखासिकी गर्ने कुरै हुँदैन ।’
कसरी संभव भयो त ? - हिन्दू धार्मिक ग्रन्थहरुमा ऋषिमुनीहरु दव्य १२हजार वर्षसम्म पनि समाधीमा रहेर तपस्या गरेको वर्णनहरु पाइन्छ । यी पौराणिक कथनलाई धेरैले विश्वास नगरे पनि स्वामी कृष्णदासजीले प्रमाणित गरिदिनुभएको छ । स्वामी कृष्णदासजीको भनाई अनुसार योग अभ्यासको अन्तिम रुप समाधी हो । समाधीमा शरीरका सबै अंगलाई निस्कृय पारिएको हुन्छ । स्वीच अफ गरिएको हुन्छ अर्थात समाधी पहिलको अवस्थामाशरीरको अंग र प्रक्रियालाई स्थूल राखिएको हुन्छ भने प्राणलाई मस्तिष्कमा लगेर राखिएको हुन्छ । शरीर र आत्मालाई छु्ट्याइएको हुन्छ । सामान्य अर्थले बुझ्ने हो भने समाधीको समयमा शरीर मरेको जस्तै हुन्छ तर आत्मा मरेको हुँदैन । समाधी सकिएपछि मस्तिष्कमा राखिएको प्राणलाई भरेर फेरि दैनिक जीवनमा फर्कने क्रिया नै समाधी हो । यसलाई योगको उच्चतम् शक्ति भन्दा पनि हुन्छ ।को को ले ढोगे स्वामीलाई - समाधी समापन कार्यक्रममा सभासदहरु, राजनीतिक नेताहरु सहित प्रधानसेनापति राजेन्द्र क्षेत्री पनि स्वामी कृष्णदासजीको भू–समाधी समापनमा भाग लिन पोखरा पुग्नुभएको थियो । त्यसका साथै मुख्य सचिव सोमलाल सुवेदी, दक्षिण एशियाली क्षेत्रीय सहयोग संंगठन सार्कका महासचिव अर्जुनबहादुर थापा, शिक्षा सचिव विश्वप्रकाश पण्डित, नेपाली सेनाका पृतनापति, क्षेत्रीय सुरक्षा प्रमुख, पत्रकारहरु सहभागी भएका थिए । दर्शनभेटको क्रममा सबैले स्वामीलाई पैसासहित ढोग गरेका थिए । स्वामीले कृष्णदासजीले सबैलाई आशिर्वाद र प्रसाद दिनुभएको थियो । वरिष्ठ व्यक्तिहरुको दर्शन पनि स्वामी कृष्णदासजीले भक्तजनलाई दर्शन दिनुभएको थियो ।Watch Video

